पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले केही दिनयतादेखि प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको छ ।
आज राति प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
हाल मौसममा बदली भई देशका प्रदेश १, मधेश प्रदेश र वाग्मती केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री र अधिकतम तापक्रम नौ दशमलव तीन डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव एक डिग्री र सबभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।