ओखलढुङ्गामा गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुङ्गाले किच्दा दाजु–बहिनीको मृत्यु भएको छ ।
आइतबार भएको सो दुर्घटनामा अन्य थप एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुङ्गा पल्टिएर किचेको थियो ।
सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुङ्गाले किच्दा ३५६९ नम्बरको बोलेरोमा सवार दाजु–बहिनी इशव कोइराला र युनिशा कोइरालाको मृत्यु भएको हो ।
सिद्धीचरण नगरपालिका १ का ७ वर्षीय युनिषा र १० वर्षीय इशव कोइराला सो जिपमा सवार थिए ।
सडक निर्माणका क्रममा सवारीसाधन आवागमन रोक्नु पर्ने भएपनि ठेकेदार सचेत नबनिदिँदा उनीहरूको ज्यान गएको हो । डोजर चालक फरार रहेकोले उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक लङ्क श्रेष्ठका अनुसार सो दुर्घटनामा मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगरको पनि मृत्यु भएको छ ।
उनका अनुसार जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् ।