खोप नलगाएका व्यक्तिका लागि ओमिक्रोन भेरियन्ट खतरनाक रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ठहर गरेको छ ।
ओमिक्रोनबाट गम्भीर बिरामी हुने अवस्था डेल्टाको भन्दा कम भएपनि खोप नै नलगाएका लागि यो खतरनाक रहेको डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले बताएका छन् ।
डब्ल्यूएचओले बुधबार गरेको पत्रकार सम्मेलनमा महानिर्देशक टेड्रोसले यस्तो बताएका हुन् । ओमिक्रोन संक्रमित हुने दर विश्वभर नै तीव्र रुपमा बढिरहेकाले उनले सबैलाई सर्तक रहन आग्रह गरे ।
‘संक्रमण बढ्नु भनेको संक्रमितको अस्पतालमा चाप बढ्नु हो’ महानिर्देशक टेड्रोसले भने ‘यसको अर्थ मृत्यु हुनेको संख्या बढ्नु पनि हो । त्यसैले सर्तक रहौँ ।’
दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन भेरियन्ट २०२२ जनवरीको पहिलो सातासम्म विश्वभरका एक सय ४९ मुलुकमा फैलिसकेको र डेढ करोड मानिस संक्रमित भइसकेको डरलाग्दो तथ्याङ्क डब्ल्यूएचओले सार्वजनिक गरेको छ ।