नेपाली नर्स बेलायत लग्नेबारे भोलि (शुक्रबार) देखि औपचारिक वार्ता सुरु हुने भएको छ ।
नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच भोलिदेखि औपचारिक वार्ता सुरु हुने भएको हो ।
नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रूपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए ।
बेलायत सरकारले एक पत्र पठाएपछि मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन बेलायत सरकारलाई प्रस्ताव गरेको थियो । त्यसैअनुसार बेलायतले नेपालस्थित दूतावासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको छ ।
वार्ता सफल भएमा बेलायतले नेपालबाट चरणबद्ध रूपमा नर्सहरू लैजाने प्रवक्ता घिमिरेको भनाइ छ ।