(प्रकाशकीय)
आ–आफ्नै सोच र उद्देश्य बोकेर सञ्चालित सञ्चारमाध्यमहरूको बीचमा शब्दएक्सप्रेस डटकम अङ्ग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिनबाट उदाएको छ । व्यावसायिक पत्रकारिता गर्ने उद्देश्य सबैसँग मिल्न सक्ला तर पृथक सोचका साथ युवा पत्रकारहरूको समूहले थालेको यो प्रयास विफल नहुनेमा हामी विश्वस्त छाैँ ।
आफ्ना वरिपरि रहेका घटना तथा विचारलाई गुणस्तरीय एवम् सन्तुलित सामग्रीका रूपमा प्रस्तुत गर्ने जमर्कोका साथ हामी उदाउँदै गर्दा देश–दुनियाँका सूचना जतिसक्दो छिटो भुइँतहको पहुँचमा पुर्याउने हाम्रो प्रयासलाई सफल बनाउन तपाईहरू सबैको साथ उत्तिकै आवश्यक रहन्छ ।
पत्रकारितामा ‘थोरबहुत’ अनुभव सङ्गालेका अनि पत्रकारिता विषयमा अध्ययनरत समूहले थालेको यो प्रयत्नको उद्देश्य व्यावसायिक पत्रकारिता नै हो, यसमा कुनै सङ्कोच छैन । पछिल्लो समयमा पत्रकारिताका अनेकन विकृति छन्, समस्या छन् । त्यतातिर पनि कलम चलाउने प्रणसहित हामी उदाएका हाैँ ।
प्रविधिको तीव्र विकास तथा सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै मल्टिमिडिया जर्नालिजमको अभ्यासको अपेक्षा पनि बढेको छ, जसलाई हामी पनि आत्मसात गर्ने छौँ । यसो भन्दैमा हामी ति माध्यमहरूलाई चटक्कै बिर्सदैनाैँ, जसले हामीभन्दा अघिल्ला पुस्तालाई सूचनाको अभाव हुन दिएन, सञ्चारलाई निरन्तरता दिएर इतिहास रच्यो । ति सबै माध्यमको जगेर्णा गर्नु हाम्रो अर्को उद्देश्य हो ।
यस्तै, ‘हु फास्ट एन्ड फर्स्ट’ को अनलाइन मिडियाको अवधारणा शिरोपर गर्ने भएपनि प्रतिस्पर्धा र व्यावसायिकताका नाममा हतारिएर, हौसिएर नभएर जिम्मेवार भई सन्तुलित, निष्पक्ष पत्रकारिता हाम्रो आन्तरिक कार्यनीति हो । पत्रकारितामा ‘भाइरल’ बन्ने होडबाजी र द्वेष पोख्ने परिपाटीबाट टाढा रहेर पक्षपात नगरी नागरिकका लागि तटस्थ रहेर निष्पक्ष पत्रकारिता गर्ने अभ्यासको थालनी गर्नेछौँ ।
समाजप्रति जिम्मेवार र जबाफदेही भएका कारण पनि हामी पत्रकारिताका समस्त अङ्गहरूको प्रयोगमा ध्यान केन्द्रित गर्नेछौँ । मुलुकमा सकारात्मक परिवर्तनका निम्ति चलेका सबैखाले अभियानलाई उद्देश्यमा हाम्रो सहयोग रहनेछ ।