विराटनगर । देशको माथिल्लो सदन मानिने राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट सुनीलबहादुर थापा, सोमनाथ पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् । तीन पदका लागि प्रदेश राजधानी विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा आइतबार भएको निर्वाचनमा नेकपा एमालेका पोर्तेल र मेचे निर्वाचित भएका हुन् ।
त्यसअघि नै नेपाली कांग्रेसका थापा निर्विरोध निर्वाचित भएका थिए । कांग्रेस, एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुलामा उम्देवारी दिएका थापा गत पुस २३ गते बुधबार भएको मनोनयनका क्रममा नै निर्विरोध निर्वाचित भएका थिए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हेमराज घिमिरे समयमै उपस्थित हुन नसकेपछि उनी निर्विरोध बनेका हुन् ।
सूर्यबहादुर थापाका पुत्र रहेका सुनील पूर्वमन्त्रीसमेत हुन् । उनी नेपाली कांग्रेसको १४औं अधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । उनले २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष सीटबाट विजय हासिल गरेका थिए । २०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थापाले लामो समय संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न देशमा सेवा गरेका छन् ।
उनी सन् २०११ मा शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्च आयोगको सुडानमा कार्यरत रहेका बेला राजीनामा गरी राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी २०७७ साल कार्तिकमा भने नेपाली कांग्रेस प्रवेश गरी सह-महामन्त्री बनेका थिए ।
यसैगरी, राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित भइन् । मेचेले ७ हजार १ सय ७३ मत पाउँदा उनकी प्रतिद्वन्द्वी नमिता न्यौपानेले दुई हजार २ सय ६८ मत पाइन् । न्यौपानेलाई हराउँदै राष्ट्रियसभा सदस्य बनेकी रोशनी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा काम गर्ने एक्ली महिला थिइन् । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट ओली पदच्यूत भएसँगै उनी पार्टीको गतिविधिमा सिमीत थिइन् ।
एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिएकी मेचे कांग्रेस–एमाले गठबन्धनबाट निर्वाचित भएकी हुन् । एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले उनको योग्यता पुगेको थिएन ।
झापा मेचीनगर–१२ (साविक धाइजन–३) मा जन्मिएकी रोशनी एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघमार्फत राजनीतिमा सक्रिय भएकी हुन् । गृह जिल्ला र सीमान्तकृत समुदायको भएका कारण अध्यक्ष ओलीले उनलाई सचिवालयमा राखेका थिए । नेपालकै अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभामा पुग्ने उनी सम्भवतः पहिलो व्यक्ति भएकी छन् ।
झापाको मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकबल लगायत क्षेत्रमा बसोबास गर्ने मेचे समुदायले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउँछ । यो समुदायका लागि रोशनीको यात्रा गौरवको विषय बनेको छ । पार्टीको प्रतिनिधि बन्न योग्यता नपुगे पनि उनको प्राज्ञिक योग्यता भने उच्च छ । २०५५ सालमा बलभद्र माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा सकेकी उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । कानुनमा स्नातक गरेकी उनी अधिवक्तासमेत हुन् ।
यसैगरी, नेकपा एमालेका सोमनाथ पोर्तेलले पनि देशको माथिल्लो सदनमा प्रवेश पाएका छन् । दलित क्लस्टरमा पोर्तेलले प्रदेशसभातर्फ ६८ र स्थानीय तहतर्फ २०१ मतदाताको मत प्राप्त गरे । पोर्तेल ७ हजार ४२३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका खेम सुन्दासले प्रदेशसभातर्फ १८ र स्थानीय तहतर्फ ५७ मतदाताबाट २०३७ मत प्राप्त गरे । प्रदेशसभातर्फ एक मत भने बदर भएको थियो ।
झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा पाँच बर्से कार्यकाल बिताएका पोर्तेल अहिले नीति निर्माणको माथिल्लो तह राष्ट्रियसभामा पुगेका हुन् । पाँचथरमा २०३५ साल फागुनमा जन्मिएका पोर्तेल हाल झापाको हल्दिवारीका स्थायी बासिन्दा हुन् । उनको राजनीतिक यात्रा २०४७ सालदेखि विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको थियो । पार्टीको वडा कमिटीदेखि प्रदेश कमिटीसम्मका विभिन्न सांगठनिक जिम्मेवारी कुशलतापूर्वक निभाएका पोर्तेल हाल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उप–महासचिव छन् ।
पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव छ । उनले २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुखको भूमिका निर्वाह गरेका थिए । त्यसअघि २०६५ सालमा दलित वर्ग उत्थान जिल्ला समन्वय समितिको उपाध्यक्ष भएर पनि उनले काम गरेका थिए ।
कोशीमा ‘फ्लो क्रस’
कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको बलियो गठबन्धन भनिए पनि राष्ट्रियसभा निर्वाचनको मतदानमा ‘फ्लोर क्रसिङ’ देखिएको छ । निर्वाचनमा पराजित भए पनि नमितासहित नेकपाका उम्मेदवारहरूले आफ्नो पार्टीको वास्तविक मतभारभन्दा उल्लेख्य बढी मत तान्न सफल भएको देखिएको हो । महिलातर्फकी उम्मेदवार न्यौपाने र दलिततर्फका उम्मेदवार खेम सुन्दासले कांग्रेस र एमालेको ‘कोर’ भोट काट्दै आफ्नो मतभार बढाएका हुन् ।
कोशी प्रदेशमा नेकपाका १७ सांसदको मतभार ९०१ र स्थानीय तहका ३६ पदाधिकारीको मतभार ६८४ गरी कुल १ हजार ५८५ मात्रै थियो । तर, परिणाम आउँदा दुवै उम्मेदवारले गठबन्धनको मत तान्न सफल भए । महिलातर्फकी उम्मेदवार नमिता न्यौपानेले गठबन्धनका ५ जना प्रदेश सांसद र २२ जना पालिका पदाधिकारीको मत आफ्नो पक्षमा पारिन् । उनले सांसदबाट २६५ र स्थानीय तहबाट ४१८ गरी कुल ६८३ थप मतभार प्राप्त गरिन् ।
त्यसैगरी, दलिततर्फका उम्मेदवार खेम सुन्दासले १ जना सांसद र २१ जना स्थानीय तहका पदाधिकारीको मत तान्न सफल भए । उनले प्रदेश सभाबाट ५३ र स्थानीय तहबाट थप मत गरी ४५२ थप मतभार बटुलेका छन् ।
सभामुखसहित राप्रपाद्वारा बहिस्कार
कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले राष्ट्रियसभा निर्वाचन बहिष्कार गरेका थिए । कोशी प्रदेशसभामा राप्रपाका ५ जना सांसदहरूले मतदान गरेनन् । मतदान नगर्नेहरूमा सभामुख अम्बरबहादुर विष्ट, प्रदेशसभा सदस्यहरू गोपालबहादुर विश्वकर्मा, नीमसरी राजवंशी, प्रेमराज थामसुहाङ र सबिना बजगाईं रहेका छन् । कोशी प्रदेशसभामा राप्रपाका कुल ६ जना सांसद निर्वाचित भएका थिए । तर, झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि तत्कालीन प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले पदबाट राजीनामा दिएका कारण हाल राप्रपाका ५ जना मात्र सांसद बहाल रहेका छन् ।
प्रदेशसभा सदस्यका साथै राप्रपाबाट निर्वाचित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले पनि मतदान बहिष्कार गरेका छन् । बहिष्कार गर्नेहरूमा दमक नगरपालिकाका मेयर रामकुमार थापा, भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्की र हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन छन् । दमक नगरपालिकाका मेयर एवं राप्रपाका कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले पार्टीको केन्द्रको निर्णय र नीति बमोजिम नै आफूहरूले मतदान नगरेको स्पष्ट पारेका छन् ।
राप्रपाले यसअघि नै राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने र मतदान बहिष्कार गर्ने निर्णय गरेको थियो । कोशी प्रदेशमा राष्ट्रियसभाका रिक्त पदका लागि आइतबार बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो ।