धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा एयरपोर्ट बनाउन नसकिने बताएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले मिहिन ढंगले अध्ययन नगरी धरानमा तत्काल एयरपोर्ट बनाउन नसकिने बताएका हुन् ।
राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ एयरपोर्ट अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाइमैदानको सम्भाव्यताका लागि मिहिन ढंगले अध्ययन भइरहेको उनको भनाइ छ ।
प्राविधिकले धरानमा एयरपोर्टका लागि अध्ययन भइरहेको स्थानमा एकतर्फी मात्र उडान अवतरण गर्न मिल्ने जानकारी दिएको मन्त्री किरातीले उल्लेख गरे ।
‘जहाज उडान भर्न सकिन्छ कि सकिँदैन भन्ने बुझेर मात्र एयरपोर्ट बनाउनुपर्छ,’ उनले भने ।