काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश १ लाई एक सय २१ रनको विजयी लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट रङ्गशालामा भइरहेको खेलमा प्रदेश १ ले टस जित्दै फिल्डिङ रोजेको थियो । २० ओभर पूरै खेलेको कर्णालीले सात विकेट गुमाएर एक सय २० रन बनाउन सफल भएको थियो ।
कर्णालीका लागि कप्तान रविन्द्र शाहीले ३६, प्रकाश जैसी २५, राज शाह १५ र विपिन रावलले ११ रन बनाएका थिए ।
कर्णालीलाई मध्यम स्कोरमा रोक्न प्रदेश १ का लागि मुकुन्द यादवले तीन, फिरदोश अन्सारीले दुई र कमल खत्री र सिद्धान्त लोहनीले समान एक–एक विकेट लिएका थिए ।
प्रदेश १ ले आफ्नो पहिलो खेल खेलिरहेको छ भने कर्णालीको यो प्रतियोगिताको दोस्रो खेल हो । समूह ‘ए’ मा रहेको कर्णाली प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मीसँग ६३ रनले पराजित भइसकेको छ ।