यसै संस्करणबाट इन्डियन प्रिमियर लिग (आइपिएल) मा डेब्यु गर्न लागेको टिम लखनउले आफ्नो टोलीका लागि सुहाउँदो नाम प्रस्ताव गर्न समर्थकलाई सार्वजनिक रूपमा आह्वान गरेको छ ।
डिसेम्बर ३० मा फेसबुकमा आफूलाई सार्वजनिक गरेको लखनउले हिजोमात्रै सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममा पहिलो पोस्ट गरेको छ ।
तीनवटै सामाजिक सञ्जालमा तस्बिरसहितको पोस्ट गर्दै लखनउले आइपिएलको इतिहासमा नै पहिलो पटक कुनै पनि टोलीको नाम समर्थकले राख्न लागेको र त्यसको लागि सुन्दर सुहाउँदो नाम प्रस्ताव गर्न आग्रह गरेको हो ।
टोलीको नाम राख्ने असली हक्दार समर्थक रहेको लेखेको लखनउको तस्बिरमा लेखिएको छ, ‘नाम बनाउनुस्, नाम कमाउनुस्’ । आरपी सन्जीव गोयेन्का ग्रुपको लगानी रहेको टोलीमा गौतम गम्भीर र एन्डी फ्लावर जोडिसकेका छन् ।
गम्भीर टोलीको मेन्टर र फ्लावर मुख्य प्रशिक्षकका रूपमा टोलीमा आबद्ध भएका हुन् ।
आइपिएल २०२२ को मेगा अक्सन आउँदो फेब्रुअरीमा हुँदै छ । लखनउसँगै यस संस्करणबाट अहमदाबादले पनि प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै छ । अहमदाबादले पनि हालसम्म आफ्नो आधिकारिक नाम सार्वजनिक गरेको छैन ।