गेटाफेसँग १–० ले पराजित हुँदै रियल मड्रिडले नयाँ वर्ष २०२२ को खराब सुरुवात गरेको छ ।
ला लिगाअन्तर्गत आज गेटाफेको घरेलु मैदान स्टाडियो कोलेसियम एलफेन्से पेरेजमा सम्पन्न भएको खेलमा रियललाई हराउन एनस अनेलको एक मात्र गोल पर्याप्त बन्यो ।
पेनाल्टी क्षेत्रमा मिलिटाओले गरेको गल्तिको फाइदा उठाउँदै खेलको नवौं मिनेटमा अनेलले सुन्दर गोल गरेका थिए ।
पहिलो हाफमा सुरुवाती अग्रता लिएको गेटाफेले खेल अवधिभर उत्कृष्ट डिफेन्डिङ्ग गरेपछि रियलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
अक्टोबर ३ मा स्पानियोलसँग २–१ सँग पराजित भएयता १५ खेलमा अपराजित रहेको रियल आजको खेलमा साँघुरो अन्तरले पराजित भएको हो ।
ला लिगाका ११ र च्याम्पियन्स लिगका चार खेलमा अपराजित रहँदै आएको रियल आजको हारसँगै ला लिगा अङ्क तालिकाको शीर्ष स्थानमा यथावत् छ ।
आठ अङ्क कम भएको सेभिल्ला ३८ अङ्कका साथ दोस्रो स्थानमा छ । रियलभन्दा दुई खेल कम खेलेको सेभिल्लाले मङ्गलबार काडिजविरुद्ध खेल्नेछ ।