आँखाभरि आँशु पार्दै हेरिन् । अझ उस्तै लाग्छ । मेरो काखमा लुट्पुटिए जस्तो । उस्तै बाल सुलभ । उहीँ तोते बोली । अझ भनिरहे झैं लाग्छ, ‘आमा मेलाबाट मलाई पनि खाजा ल्याइदिनु है ।’
उसका बाबा भिरबाट खसेर मरेदेखि मलाई अति दु:ख भयो ।
एउटा छोरो । मेलापात, इष्टमित्र, निम्तो । कताकता भ्याउनु मैले । अझ उसलाई स्कुल पनि पुर्याउनु पर्थ्यो ।
कहिले त लाग्थ्यो नदीमा हामफालेर मरौंजस्तो । उसलाई हेर्थे । चित्त बुझाउँथें, ‘मेरो त आधार छ नि !’
‘आमा स्कुलको फी लाने रे । अनि स्कुलको ड्रेस पनि लगाउने रे । नत्र भोलिबाट कक्षामा बस्न न दिने रे !’ झसंग भएँ ।
अब कसरी यो समस्या समाधान गरौं । गाउँतिर सापट मागें कही पाइएन ।
दुःखीलाई दिने कसले ? कानमा मुन्द्री थिए बेचें । पढ्न तेज थियो । इन्जिनियर भयो । जागिर न खाइन्जेल निकै माया गर्थ्यो ।
एक बित्ता छोड्दैनथ्यो । ‘बाबु तिमी घर बस न । म पल्लो घर गएर आउछु ।’
‘नाइ आमा म पनि जान्छु ।’
जागिर खायो । सोचे मेरा दु:खका दिन सकिए । आफूसरहको जागिर खाएको केटी विवाह गर्यो ।
बुहारी पनि नयाँ नौली भएर होला अति माया गर्थिन्, अनि भन्थिन्, ‘आमा हजुर त मेरी माइतको आमा जस्तै लाग्छ ।’
खुसीसँग दिन बितेका थिए । एकदिन घरको आँगनमा गाडी आयो ।
‘आमा चाँडै गर्नुहोस्, अब वृद्धाश्रम गएर बस्ने हो !’ आमाले आँखा मिचिन् । यो भ्रम होइन । फेरि हेरिन् । आफ्नो सामान गाडीमा राखिरहेका रहेछन् ।
आमाले एकपटक रुँदै भनिन्, ‘बाबु म वृद्धाश्रम जान्नँ !’
‘आमा तपाईंले म सानो हुँदा भन्नु भएको थियो नि बाबु म तिम्रो खुशीको लागि जे गर्न पनि तयार छु भनेर’, छोराले जबाफ फर्कायो ।
-तुलसी पण्डित, भरतपुर