मुसलमानहरूका लागि बर्षको सबै भन्दा पवित्र महिना रमजान नेपालमा सुरु भइसकेको छ ।
रमजानको पालना इस्लामको पाँचवटा स्तम्भ मध्ये एक हो । विश्वभरका मुस्लिमहरू पुरा महिना व्रत (रोजा) बस्छन् ।
कुरानमा वर्णन गरेअनुसार रमजानको पवित्र महिनाको अवधिमा ज्यान जोखिम बनाउन सक्ने दिर्घ रोगहरू जस्तो मधुमेह भएका केहि व्यक्तिहरू वाहेक सवै स्वस्थ्य व्यस्क मुस्लिमहरू रोजा बस्नु अनिवार्य हुन्छ ।
रमजान अवधिमा दिर्घ रोगीहरू जस्तो मधुमेह लगायत केहि व्यक्तिहरूलाइ रोजा बस्न छुट दिइएको भएतापनि धेरै मुस्लिम मधुमेह रोगीहरू पनि रोजा बस्ने गर्छन् ।
रमजानको महिनामा जिवन शैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनको कारण रोजले शरीरमा हुने मेटाबिलिजममा पनि गडबडि ल्याउँछ ।
त्यसैगरी मधुमेह विरामीमा हृदय, मिर्गौला र अन्य जटिलता हुदा मधुमेह रोगीहरूमा रोजा बस्दा जोखिम बढेर जान्छ । त्यसकारण सुरक्षित रोजा सुनिश्चित गर्नको लागी मधुमेह विरामीहरुले रोजा राख्नु अघि चिकित्सक र धार्मिक सल्लाह लिनुपर्ने विराट मेडिकल कलेज शिक्षण अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. अनिल यादव बताउँछन् ।
यस्ता छन् रोजा राख्दा हुने शारीरिक लाभहरूः
– शरीरको तौल कम हुने
– ग्लुकोज नियन्त्रण हुने
– बोसोको मात्रामा सुधार हुने
– रक्तचाप नियन्त्रण हुने
– प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने
– शरीर भित्रको विषाक्त पदार्थ बाहिर निस्कने
मधुमेह विरामीले रोजा राख्नु हुदैन । मधुमेह विरामीले चिकित्सकको सल्लाह अनुसार रोजा राख्न मिल्छ । रोजा बस्ने निर्णय गर्नु भन्दा ६ देखि आठ हप्ता अगाडी चिकित्सक र धार्मिक सल्लाहको अधारमा जोखिमको मुल्याङ्कन गरेर रोजा बस्दा हुने जोखिम कम गर्न सकिन्छ ।
रमजानको समयमा मधुमेह बिरामीहरूमा हुने जोखिमहरूः
– रगतमा ग्लुकोजको अत्याधिक मात्रा कम हुनु (हाइपोग्लाइसेमिया)
– रगतमा ग्लुकोजको अत्याधिक मात्रा बढी हुनु (हाइपरग्लाइसेमिया)
– शरीरमा पानीको मात्रा अत्याधिक कम हुनु (डिहाइड्रेसन)
– टाइप १ मधुमेह विरामीहरूको रगतमा एसिड जम्मा हुनु
मधुमेह बिरामी र पारिवारिक सदस्यहरूले राख्नुपर्ने जानकारी :
– स्वस्थ्य पोषण
– नियमित व्ययाम
– औषधि र मात्राको समायोजन
– नियमित ग्लुकोजको जाँच
– रगतमा अत्यधिक कम ग्लुकोज हुदा देखिने लक्षणहरू
– रोजा तोड्न मिल्ने अवस्था
शरीरलाइ दैनिक आवश्यक पर्ने क्यालोरीलाई सेहरी र इफ्तारको बीचमा सही मात्रामा विभाजन गरी सेवन गर्नुपर्छ । अत्यधिक फाइबरयुक्त खाना, फलफूल, तरकारी र सलाद प्रशस्त मात्रामा खाने, सूर्यास्त र सूर्योदयको बीचमा प्रशस्त तरल पदार्थ पिउने गर्नुपर्छ । यस्तो बेलामा गुलियो तरल पदार्थ, मिठाइ तथा क्याफिनयुक्त तरल पदार्थको सेवन गर्नुहुँदैन ।
रोजाको समयमा कठोर व्यायाम गर्नुहुदैन । कठोर व्यायामले रगतमा ग्लुकोजको मात्रामा अत्याधिक कमि हुनुको साथै शरीरमा पानीको मात्रा पनि अत्याधिक कम हुन सक्छ । रमजानको बेला औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्न जरुरी हुन्छ ।
मधुमेह बिरामीहरू खानेकुरा तथा औषधिको समुचित प्रयोग बारे शिक्षित नभएमा रोजा राख्ने अवस्थामा विभिन्न प्रकारका जोखिमहरूमा हुन्छन् । बिरामीहररूले औषधि वा इन्सुलिन प्रयोग गरिरहेका हुन्छन् जसले हाइपोग्लाइसेमिया वा हाइपरग्लाइसेमिया निम्त्याउँन सक्छ ।
पसिना आउनु, चक्कर लाग्नु, हृदयको गति बढनु रगतमा ग्लूकोजको मात्रा अत्यधिक कमि वा हाइपोग्लाइसेमिया हुदाको लक्षणहरू हुन् । यसबाहेक बिरामीलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने आदि पनि हुनसक्छ । रगतबाट ग्लूकोज परिक्षण गर्दा र इन्सुलिन इन्जेक्सन लिदा रोजा टुट्दैन ।
रगतमा ग्लुकोजको मात्रा <७० एमजी/डिएल (३.९ एमएमओएल/एल) भएमा, रगतमा ग्लुकोजको मात्रा >३०० एमजी/डिएल (१६.७ एमएमओएल/एल) भएमा वा अस्वस्थ महसुस भएमा रोजा तोड्न मिल्छ ।