सामान्यतया चैत वा वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्यै भएको छ ।
फागुनमै लालीगुराँस ढकमक्क भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् ।
फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् ।
यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर जङ्गल राता देखिन थालेका छन् भने काफल र एसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ ।
यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको वातावरणविद्ले बताएका छन् ।
लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ ।
लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गरे पनि केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको वातावरणविद् चन्द्रमणि सापकोटा बताउँछन् ।
उनका अनुसार स्वाभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो ।
विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।
उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन् ।
लागीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको असर देखिएको छ ।
लालीगुराँसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ ।
नेपालमा पाइने लालीगुराँस औषधि मानिन्छन् ।
लालीगुराँस घाँटीमा खानेकुरा वा अरू केही चिज अड्किएको बेलामा खाँदा अड्किएको चिज निस्कन्छ भन्ने मान्यता छ ।
त्यसैले पनि यसलाई औषधि मानिन्छ ।
नेपालमा गुराँसको सर्वत बन्दछ । विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ ।
इलाम जिल्लाको तत्कालीन मङ्गरलबारे गाविसमा रहेको १६ दशमलव एक मिटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ ।
विश्वमा लालिगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य पाँच गुराँसहरू पाइन्छन् ।
यो पनि :
विराटनगरमा ५० करोडको लगानी गर्ने लक्ष्यसहित कृषि फर्म, पाँच हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य