एकदिन शिवांश ऋषि दुर्वाशा भगवान् विष्णुको दर्शन गर्नको लागि वैकुण्ठ जानुभयो ।
ऋषिले दर्शन गरेपछि विष्णुले भन्नुभयो- “ऋषिजी, बरदान माग्नुहोस् ।”
ऋषिले भने, “हजुरको कृपाले सबैथोक म सँग छ । प्रभु मलाई केही चाहिँदैन ।”
ऋषिले यति भनेपछि विष्णुले केही त दिनुपर्यो भनेर बरदानस्वरूप फूलको एउटा दिब्य माला दिनुभयो ।
त्यही माला लगाएर ऋषि स्वर्गमा देवताका राजा ईन्द्र भएको ठाउँमा जानुभयो ।
सधैँ तपस्यामा लिन् हुने ऋषिलाई त्यो दिब्य मालाको के काम, ऋषिले त्यो माला ईन्द्रलाई लगाउनको लागि प्रदान गर्नुभयो ।
तर सधैँ भोग बिलासमा लिप्त रहने ईन्द्रले त्यो दिब्य मालाको महत्त्व नबुझी हात्तीको शिरमा फालिदिए ।
माला हात्तीको शिरबाट भुईंमा झर्यो र हात्तीले कुल्चियो ।
भगवान्-को प्रसादको यसरी अबहेलना भएको देखेर ऋषिलाई साह्रै रिस उठ्यो ।
उनले ईन्द्रलाई तत्कालै “श्रीहीन भएस्” भन्ने श्राप दिए ।
ऋषिले श्राप दिनासाथ ऋषिको श्राप पूरा गर्नको लागि लक्ष्मी माता आफ्नो माइत समुन्द्रमा जानुभयो ।
लक्ष्मी नै नभएपछि सम्पूर्ण ब्रह्माण्डमा नै “श्री” अर्थात् सुन, चाँदी, धन-सम्पत्ति सबै लुप्त भएर गयो ।
ऋषि दुर्वासाको श्रापले ईन्द्र शक्तिहीन र कमजोर भए ।
उता ऋषि शुक्राचार्यको मृत सञ्जीवनी मन्त्रले बलिया भएका दानवका राजा बलीसँग पराजित भएर देवराज ईन्द्र सम्पूर्ण देवताहरूसहित लुकिलुकी पृथ्वीमा भ्रमण गर्न थाले ।
धेरै समय दुःख पाएर हिँडेका देवताहरूले यस्तो अवस्थाबाट पार पाउन सबैले सल्लाह गरी भगबान् विष्णुको शरणमा गए ।
यस्ता दीनहीन भएका देवताहरूको प्राथनाले खुसी हुनुभएका भगवान् विष्णुले समुन्द्र मन्थन गर्दा सम्पूर्ण समस्याको समाधान हुने कुरा बताउनुभयो ।
मन्थन गर्दा समुन्द्रबाट निस्केको सम्पूर्ण कुराहरू आधा- आधा बाँडने शर्त राखेर सम्पूर्ण देवता र दानवका राजा बलीसहित सम्पूर्ण दानवहरू मिलेर समुन्द्र मन्थन गर्न थाले ।
मन्दराचल पर्वतलाई मदानी बनाई बासुकी नागको नेती बनाएर समुन्द्र मन्थन गर्दै जाँदा पहिला केही फिँजहरू निस्कन थाल्यो ।
त्यसको तीन वर्षमा “सुरा” अर्थात् मदिरा निस्कियो ।
त्यसको एक वर्षमा कामधेनु गाई उत्पन्न भइन् ।
त्यसको एक वर्षमा ऐरावत नाम गरेको हात्ती निस्कियो ।
त्यसको एक वर्षमा सात मुख भएको उच्चश्रवा नामको घोडा निस्कियो ।
त्यसको तीन महिनामा अप्सराहरू निस्किए ।
त्यसको एक वर्षमा चन्द्रमा निस्किए ।
त्यसको तीन वर्षमा अति ज्वालायमान कालकुट बिष निस्कियो र तिनै लोकलाई जलाउन लाग्यो ।
त्यो बिषको चमक शरीरमा पर्नासाथ भगवान् विष्णुको सम्पूर्ण शरीरनै निलो भयो ।
त्यस्तो भयङ्कर बिषलाई शिवजीले पान गरी कण्ठमा राखी संसारको रक्षा गर्नुभयो ।
त्यसको एक वर्षपछि कोदण्ड नाम गरेको धनु निस्कियो ।
त्यसको एक महिनापछि पान्चजन्य नामको शङ्ख उत्पन्न भयो ।
त्यसको एक वर्षपछि पारिजात र कौस्तुभ मणि निस्कियो ।
त्यसको केही समयपछि गेरुवा अर्थात् खैरो वस्त्र लगाएकी, राता आँखा भएकी, खैरो कपाल भएकी, जीर्ण शरीर भएकी, दाँत झरेकी, देख्दैमा सारा मानिस डराउने डरलाग्दो स्वरूप भएकी दरिद्रा उत्पन्न भइन् ।
उनलाई नै दरिद्रा, जेष्ठा, अलक्ष्मी वा अलच्छिनी अनेक नामले चिनिन्छ ।
त्यसको केही समयपछि सुन्दर वस्त्र लगाएकी, हातमा कमल लिएकी, सौन्दर्यकी खानि लक्ष्मी माताको उत्पन्न भयो ।
त्यसको १२ वर्षपछि धन्वन्तरी भगवान् हातमा अमृतको घडा लिएर बाहिर आउनुभयो ।
अमृत बाँडफाँडमा पनि धेरै झगडा भयो ।
विष्णुले मोहिनीको रूप लिएर देवताहरूलाई अमृत पान गराउनुभयो ।
त्यसपछि रत्नहरू बराबर बाँडे ।
मदिरा दानवहरूलाई दिए ।
कामधेनु गाई, ऐरावत हात्ती, अप्सराहरू देवताहरूले राखे ।
कोदण्ड धनु शिवजीले राख्नुभयो ।
सात मुख भएको उच्चश्रवा नामको घोडा सूर्यले लिए ।
पारिजात, पान्चजन्य शङ्ख, कौस्तुभ मणि विष्णुले राख्नुभयो ।
तर, लक्ष्मीलाई के गर्ने भन्ने प्रश्न आयो ।
दानवहरू हल्ला गर्न थाले तर देवताहरूले लक्ष्मीको स्तुति गर्न थाले ।
बह्माजीले शिवजीसँग सल्लाह गरेर लक्ष्मीले आफ्नो वर आँफै छान्ने स्वयंवरको सुरुवात गराउनुभयो ।
लक्ष्मीले विष्णुको गलामा वरमाला लगाइदिएपछि विष्णुसँग विवाहको लागि शिवजीले लक्ष्मीको पिता सागरलाई बोलाउन पठाउनु भयो ।
ब्राह्मणहरूले सागरलाई लिएर आए ।
सागरले विवाहको सम्पूर्ण सामाग्री तयार गरे ।
नारदले लगन निकाले ।
यो देखेर लक्ष्मी माताले सबैलाई भन्नुभयो, ‘पहिला जेष्ठा (जेठी) को विवाह गरेर मात्र कान्छीको विवाह गर्नुपर्छ । यो बेदमा बताइएको एउटा उत्तम बाटो हो ।’
लक्ष्मीका यस्ता कुरा सुनेर सबै उदास भए । अब के गर्ने ? त्यस्ती डरलाग्दो स्वरूप भएकी जेठीलाई कसले विवाह गर्ने ?
यस्तो कुरा सोचेर उदास भएका देबताहरूलाई देखेर नारदमुनीले भने, ‘हे विष्णु भगवान्, ऊत्तालक ऋषि तपाईंका बडा भक्त छन् । तिनले जेठीलाई विवाह गर्न अवश्य मान्नेछन् ।’
नारदका कुरा सुनेर विष्णुले नारदलाई उत्तालक ऋषिलाई बोलाउन पठाउनुभयो ।
नारदले उनलाई बोलाएर ल्याए ।
विष्णुले उत्तालकलाई विभिन्न कुराहरू गर्दै फकाउनुभयो ।
‘समुन्द्रकी जेठी कन्या पतिव्रता छन्, तिमी जेठीलाई विवाह गर, कान्छीलाई म वरण गर्नेछु । यति गर्यौ भने तिमीमाथि म सधैँ प्रसन्न रहन्छु,’ विष्णुले भन्नुभयो ।
विष्णुका यति कुरा सुनेर उत्तालक चुप लागे ।
नारदले समुन्द्रको जल हातमा लिन लगाएर सङ्कल्प पढी ती कन्या ऋषिलाई अर्पण गराए ।
त्यसपछि विष्णुले समुन्द्रबाट लक्ष्मीको कन्यादान लिनुभयो ।
उत्तालकलाई बिदा दिई, लक्ष्मीको हात समाति विष्णुले लक्ष्मीलाई वैकुण्ठ लिएर जानुभयो ।
ऊत्तालक ऋषि पनि ती जेठी कन्यालाई लिएर आफ्नो आश्रममा गए ।
होम गरेको धुवाँ उडिरहेको, शङ्ख, घन्ट र बेदको ध्वनिहरूले गुन्जयमान, राम्रो कर्म गर्ने साधु, सन्त, तपस्वी र ऋषिहरूले भरिएको ऋषिको आश्रम देखेर ती दरिद्रा भन्छिन्-
‘यी आश्रम त मेरो टाउको दुखाउने रहेछ । हे स्वामी म यहाँ बस्न सक्दिन । मलाई अन्तै अर्को आश्रम निर्माण गरेर राख्नुहोस् ।’
ऋषिले अरू हजारौँ आश्रमहरू देखाए तर उनलाई एउटा आश्रम पनि मन परेन ।
त्यसपछि ऋषिले उनलाई सोधे, ‘तिमीलाई कस्तो ठाउँ मनपर्छ ?
जेष्ठा भन्छिन् – जहाँ रातमा श्रीमान्-श्रीमतीबीच झगडा हुन्छ, जहाँका जनहरू कुलधर्मलाई छोडिरहन्छन् ।
जहाँका मानिसहरू जुवा खेल्ने, मदिरा खाने र खराब-खराब कर्महरू गरिरहन्छन्, जहाँ कुनै प्रकारको सात्तिक कर्महरू हुँदैनन् ।
जहाँ बेदको निन्दा तथा उपहास हुन्छ, मित्रतामा बिघ्न गर्दछन् ।
सधैँ अर्काको खाने, ब्यार्थ भाँडाकुँडा र बाजाहरू बजाउने जनहेरू रहन्छन् ।
जहाँ माता, पिता, गुरु, ब्राह्मण र असल कर्म गर्नेहरूको अपमान गर्ने यस्तैयस्तै खराब मानिस र स्थानहरू जहाँ-जहाँ रहन्छन् ।
त्यहाँ-त्यहाँ मलाई बस्न अति मनपर्छ । मलाई अन्त बस्न मन पर्दैन ।’
जेष्ठाका यस्ता कुरा सुनेर ती मुनि अत्यन्त दुखित भए ।
जुन ठाउँ मलाई मन पर्छ त्यो ठाउँ यसलाई मन पर्दैन ।
विष्णुले यसलाई मलाई भिँडाइदिए । अब के गर्ने ? ती विष्णुको विवाह त भइसक्यो ।
अब यसलाई त्याग्नुपर्यो नत्र मेरो तपस्या नासिन्छ भन्ने मनमा विचार गरी जेष्ठालाई भन्दछन्, ‘हे सुन्दरी, मेरो कुरा सुन, तिमी यस पिपलको फेदमा स्थिर भएर बस ।
म तिमीलाई बस्न योग्य ठाउँ खोज्न जान्छु ।
तिमीले भनेजस्तै ठाउँ खोजेर म तिमीलाई उहाँ लैजाउँला ।
तिमीले कत्ति शोक नगर भनी जेष्ठालाई फकाईफुल्याई पिपलको फेदमा छाडेर ऋषि त्यहाँबाट भागे ।’
ती जेष्ठा पनि त्यहीँ बसेर ऋषिको बाटो हेर्न थालिन् ।
हेर्दा हेर्दै घाम अस्तायो, साँझ पर्यो तर ऋषि फर्केर आएनन् ।
आफ्नो श्रीमानले यसरी आफूलाई छाडेर भागेको देखेर पहिला उनी निकै मायालाग्दो दीन स्वरमा रुन थालिन् ।
आफूलाई विवाह गरी एक्लै छाडी भागेको पीडा सम्झी-सम्झी उनी चर्को-चर्को स्वरमा कराउँदै र रुँदै निकै चर्को स्वरमा क्रन्दन गर्न थालिन् ।
उनले रोएको आवाज वैकुण्ठमा पनि लक्ष्मीले सुनिन् र विष्णुलाई भनिन्, ‘हे प्रभु आज मेरी दिदीले रोएको सुनेँ । ती मुनि मेरी दिदीलाई छोडेर कता गए होलान्, दिदिलाई सम्झाउन जानुहोस् ।’
लक्ष्मीका यस्ता कुरा सुनेर भगवान् विष्णु गरूढमा चढेर लक्ष्मीलाई पनि सँघै लिएर ऊ रोइकराई गरिरहेको ठाउँमा पुग्नुभयो ।
त्यहाँ पुगेर विष्णुले सम्झाउँदै भन्नुभयो, ‘हे जेष्ठा ती मुनि तिमीलाई छोडेर गएपनि पिर नगर ।
मेरा अङ्गबाट निस्केको यो पिपलको वृक्ष “गया” नाम गरेको पुरमा छ ।
“बोधी” नाम गरेको यस पिपलको बृक्षमा नै तिमी धेरै कालसम्म स्थिर भएर बस ।
यस पिपलको बृक्षमा बस्ने सबै भूत, प्रेत, पिचासहरू तिम्रा सेवक हुनेछन् ।
तिनीहरूकै साथमा यहाँ निवास गर । शोकलाई त्यागेर खुसी हुने प्रयास गर ।
आज शनिबारको दिनमा अति राम्रो योग र धेरै प्रकारको पुण्य दिवस परेको र पर्ने हुनाले हरेक सात्- सात् दिनमा आउने शनिबारको दिनमा तिम्री बहिनी लक्ष्मी तिमीलाई भेट्न आउनेछिन् ।
शनिबारको दिन जसले पिपलको पूजा गर्ला उसको घरमा मेरी प्रिय लक्ष्मी गएर निबास गर्नेछिन् ।
शनिबारदेखि बाहेक अरू बार जसले पिपललाई छुन्छ, उनीहरूलाई त्यति राम्रो नहोला ।
तिनलाई त्यस्तो आश्वासन दिएर लक्ष्मी र विष्णु वैकुण्ठ गए ।
त्यसपछि हरेक शनिबारका दिन लक्ष्मी, विष्णुलाई लिएर आफ्नी दिदी जेष्ठालाई भेट्न पिपलको बृक्षमा आउन थालिन् ।
सधैँ आएर कुराकानी गर्दा गर्दै समुन्द्र मन्थनबाट उत्पन्न भएका लक्ष्मी र दरिद्रा यी दुई दिदीबहिनीबीच एकदिन सामान्य विवाद भयो ।
कुराकानीको क्रममा दरिद्राले भनिन्, ‘नारायण स्वामी पायाँ भनेर मख्ख नपर् लक्ष्मी, जे जस्ती भएपनि म तिमीले मान्नुपर्ने तिमीभन्दा जेठी दिदी हो ।’
लक्ष्मीले भनिन्, ‘कर्मले जेठी र श्रेष्ठ हुनुपर्छ दिदी, जन्मले होइन् ।
कर्मले त म नै तपाईंभन्दा जेठी र ठुली छु ।
म नै सम्पूर्ण प्राणी तथा मनुष्यहरूमा कुलको रूपमा, शीलको रूपमा रहेको हुन्छु ।
उनीहरूलाई मैले नै जीवन दिएको छु ।
धन छैन भने उनीहरूको कुल, शील, मान, सम्मान केही रहँदैन ।
यसकारण म नै तिमीभन्दा ठुली र श्रेष्ठ छु ।
दरिद्राले भनिन्, ‘त्यसो होइन लक्ष्मी, तिमीभन्दा ठुली र श्रेष्ठ त मै छु । मै पहिला जन्मेकी, जन्मले पनि मै जेठी छु । फेरि धन भएपछि मान्छे सत्मती, विनम्र हुँदैन ।
लोभ, इर्ष्या र अनेक उदण्ड गर्न थाल्छ ।
ऊ धनले उन्माद हुन्छ ।
अरूसँगको व्यवहार नै रुखोसुखो गर्न थाल्छ ।
तिमी कसरी ठुली भयौ ?
फेरि लक्ष्मीले भनिन्, अँह, हुँदै हैन ।
के त्यति जाबो कुराले तिमी ठुली भयौ ?
हेर दरिद्रा साक्षत शिवजीनै किन नहोस्, यदि धन छैन भने उसलाई सबैले अपमान र अपहेलित गर्दछन् ।
आफ्नो दैनिक जीवनयापनदेखि लिएर अरूलाई दान, सहयोग, अतिथि सेवा, तीर्थब्रत र सबै पुण्यकर्म गर्नलाई नै धन नभइ हुँदैन ।
धन नभए मानिसको जीवन नै अति नै कस्टकर हुन्छ । फेरि धन नभएपछि अरूसँग माग्नुपर्यो ।
आफ्नो प्रयोजनको लागि माग्दा उसलाई मर्नु समान हुन्छ ।
हात फैलाएर मलाई देऊ, देऊ भनेर माग्दा शरीरमा बसेका पञ्च देवता “धी, (धैर्य ) श्री, (ऐश्वर्य ) री, (शान्ति ) कृति, गुण सबै निस्किएर जान्छन् ।
उसलाई शिर ठाडो बनाएर हिँडन गाह्राे हुन्छ ।
हेर दरिद्रा, मान्छेको मान, इज्जत्, प्रतिष्ठा, महत्त्व तबसम्म हुन्छ, जबसम्म उसले अरूसैग माग्दैन ।
अरूसँग माग्नेको के इज्जत् के प्रतिष्ठा सबै घट्दै गइरहेको हुन्छ ।
अरूलाई दिनेको, बाँडनेको सबैले ईज्जत् र प्रशंसा गर्दछन् तर याचक बनेर माग्नेको गुण र ऐश्वर्य सबै समाप्त भएर जान्छ ।
उसको गौरव गर्नलायक केही बाँकी रहँदैन ।
तिमी कसरी ठुली भयौ र दरिद्रा ?
सर्बश्रेष्ठ त म पो भएँ ।
लक्ष्मीले यस्ता कुरा गरेको सुनेर दरिद्रालाई दिक्क लागेछ ।
उनले भनिन्,- अझै पनि मै श्रेष्ठ र ठुली छु तिमीभन्दा ।
तिमीलाई लाज लाग्दैन, तिमीसँग मै ठुली हुँ भन्न, विद्वान, ज्ञानी, असल र सज्जन ब्यक्तिहरू कहिल्यै धन, सम्पत्ति भेला पार्नपट्टी लाग्दैनन्, थाहा छैन तिमीलाई त्यतिपनि ।
जोसँग तिमी अधिक सम्पत्ति लिएर जान्छ्यौ, कि ऊ मांस, मदिरा, जुवातास, स्त्री चरित्र र कुमार्गमा लाग्न थाल्छ, कि झन् चिन्तीत र पश्चाताप गर्न थाल्दछ ।
त्यतिमात्र हैन, लक्ष्मी, तिमीले प्रायः विद्वान, साधु, सन्त, तसस्बी र असल मानिसहरूको सदाचार र आचरणलाई पनि नस्ट र भ्रस्ट बनाइदिन्छ्यौ ।
कहिलेकाहीँ मान्छेलाई अनारी, अन्यायी, धर्मद्रोही, मित्रद्रोही, देशद्रोही र विश्वासघाती पनि बनाइदिन सक्छ्यौ ।
त्यस्तो तल्लोस्तरको कार्य गर्न बाध्य बनाइदिने तिमी कसरी ठुली भयौ ?
तिमीभन्दा त मै सर्बश्रेष्ठ र ठुली छु लक्ष्मी ।
दरिद्राका त्यस्ता कुरा सुनेर लक्ष्मीले भनिन्,- त्यस्तो हैन दरिद्रा, वैकुण्ठमा क्षीरोद सागरमा निवास गर्ने मलाई स्वर्गमा “ईन्द्रलक्ष्मी” को रूपमा, राजाहरूले “राजलक्ष्मी” रूपमा र सम्पूर्ण गृहिणीहरूले “गृहलक्ष्मी”को रूपमा ब्राह्मण्डभरिनै मेरो पूजा, आरधना, मान र सम्मान गर्छन् ।
मेरो उपस्थितबिना कुनै पनि मानिस “भिक्षुक” रूपमा प्राप्त हुन्छ ।
मबिना मानिसको कुनैपनि कर्म पुर्ण हुँदैन ।
म गाईहरूमा “सुरभी” हो ।
सम्पूर्ण पुजा वा पुण्यकर्ममा म “दक्षिणा” हो ।
म नै सम्पूर्ण प्राणीलाई भरणपोषण गर्ने “पृथ्वी” हो ।
देवकार्यमा गरिने स्वाहा र पितृकार्यमा स्वाधा म नै हो ।
मेरो उपस्थितबिना कुनै पनि स्थान “स्मसान” बन्दछ ।
सम्पूर्ण प्राणीहरूको आत्मामा मायाको स्वरूप बनेर, बाँणीस्वरूप र शक्तिको स्वरूपमा म नै रहेको हुन्छु ।
म नै मनुष्यहरूलाई ज्ञान, बल, विद्या, बुद्धि, यश, कृति, धर्म, अर्थ, भुक्ति र मुक्ति दिने सम्पूर्ण प्राणीहरूकी आमा हो ।
अनि तिमीम भन्दा कसरी ठुली र सर्बश्रेष्ठ भयौ दरिद्रा ?
तिमीभन्दा त म धेरै ठुली र सर्बश्रेष्ठ छु ।
लक्ष्मीका यस्ता लामा, चौडा, बढाईं, चढाईं गरेका कुरा सुनेर दरिद्राले अल्ली ठुलो स्वरमा भनिन्, ‘अँ तिमीले त्यति सजिलै मानिसलाई भुक्ति र मुक्ति दिन्छ्यौ, तिमीले त सम्पूर्ण मानिसलाई आफ्नो मायाको जालमा पारेर जन्म-मरणरूपी चक्रमा घुमाइरहन्छ्यौ ।
कसैले तिम्रो वा तिम्रो पतिको पूजा आरधना गर्यो भने उसको छोरा, नाति, पनातिसम्मलाई ठुलो पद, मान, सम्मान, धेरै धन सम्पत्ति र ऐश्वर्य प्रदान गर्दछ्यौ ।
ताकि, उसका छोरा, नातिहरू कोहिपनि धन, सम्पत्तिको लागि तिम्रो वा तिम्रो पतिको चरण छुन नआउन्, उनीहरू सधैँ मनोरञ्जन, भोग, बिलास, मांस र मदिरामा भुलेर तिम्रो पतिको (हरि ) नामबाट बिमुख रहुन् ।
ता कि मृत्युपछि सबैलाई चौरासीलाख योनीमा सधैँभरि घुमाइरहन पाइयोस् ।
बरु हेर लक्ष्मी म कुनै पनि घरमा प्रवेश गर्दछु, त्यहाँ सबै कुरा लथालिङ्ग, भताभुङ्ग भई दु:ख र दरिद्रतामात्रै प्राप्ति हुन्छ।
आफ्नो अवस्थाबाट फरक भई अनेक विपत्ति पाई निकै दयनीय अवस्थामा वा भिक्षुक रूपमा समेत प्राप्त हुनसक्छ ।
तब मात्र मानिस हे प्रभु, मलाई यस दुःखको सागरबाट छुटाईदिनुहोस भन्दै तिम्रो पतिको (हरि) नाम स्मरण गर्न पुग्दछ ।
बल्ल उसको “आर्त पुकार” सुनेर प्रभुको हृदय पनि पग्लन बाध्य हुन्छ र उसको सबै कुरा राम्रो हुँदै गएर अन्त्यमा भुक्ति र मुक्तिसमेत प्राप्त गर्दछ ।
त्यसैले हेर लक्ष्मी तिम्रो धन, सम्पत्ति र मायाले अन्त्यमा मानिस नरक यातना भोगी चौरासीमा गएर पर्छ तर मेरो दरिद्रताले मानिस मुक्तिको मार्गमा प्राप्त हुन्छ ।
अब तिमी आफैँ भन लक्ष्मी, मभन्दा तिमी कसरी ठुली हुन सक्यौ ?
आखिर तिमीभन्दा त मै सर्बश्रेष्ठ भएँ ।
दरिद्राका यस्ता कुरा सुनेर फेरि लक्ष्मीले भनिन् – हेर दरिद्रा, हामी आ-आफै विवाद गरेर मै ठुली हो भनेर हुँदैन ।
हामीमा ठुली को हो ? अरू कसैसँग सोधौँ ।
कोसँग सोध्ने दरिद्राले भनिन् ।
त्यहाँ “गौतमी” नाम गरेकी गङ्गा बगिरहेकी छन्, जाउँ गङ्गासँगै गएर सोधौँ ।
हुन्छ भनी गङ्गाका किनारामा गएर दुवै जनाले गङ्गासँग सोधे – ल भनिदेऊ त गङ्गा हामी दुई दिदीबहिनीमा को ठुली र सर्बश्रेष्ठ छ ?
गङ्गाले भनिन् – सुन लक्ष्मी र दरिद्रा, ब्रह्मश्री, तपश्री, यज्ञश्री, धनश्री, विद्या, यश, कृति, गीत, सङ्गीत, सरस्वती, लता, गुल्म, चाँदनी, विनस्पति, बिहान, औषधी, जल, थल,आकाश, पृथ्वी, प्रज्ञा, स्मृति, लज्जा, क्षमा, शान्ति, आशीर्वाद, मङ्गरलाचरण, चर, अचर, भुक्ती अनि मुक्ति सबैमा लक्ष्मीको बास हुँदाहुँदै दरिद्रा तिमी कसरी ठुली भयौ हँ ?
लक्ष्मीसँग तिम्रो प्रतिस्पर्धा हुनै सक्दैन । सर्बश्रेष्ठ त लक्ष्मीनै हुन् । भनेर गङ्गाले घोषणा गरिदिइन् ।
गङ्गाले यति भनेपछि लक्ष्मी प्रशन्न भइन् । गङ्गाले आफूभन्दा लक्ष्मीलाई श्रेष्ठ बनाइदिएकोले दरिद्रालाई मनमा क्रोध आयो ।
उनले गङ्गालाई अनेक गालि गर्न थालिन् ।
दरिद्राले आफूलाई गाली गरेको देखेर गङ्गाले भनिन् – हे दरिद्रा तिमीले बिनाकारण मलाई गाली गरिरहिछ्यौ म तिमीलाई श्राप दिन्छु ।
“जुन घरमा तिमी बस्छ्यौ त्यो घरमा मेरो पवित्र (गङ्गाको) जल छर्किनासाथ तिमी त्यहाँबाट भाग्नुपरोस् ।”
गङ्गाले यति श्राप दिएपछि लक्ष्मीले पनि फेरि फकाइफकाइ आफ्नी दिदी दरिद्रालाई उनी बसेको पिपलको वृक्षमा पुर्याएर आफू वैकुण्ठ गइन् ।
ब्रह्म पुराणबाट