केन्द्रीय तथ्याङ्क विभागले गत बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्यो ।
जसअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
कुल जनसङ्ख्यामा एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष र एक करोड ४९ लाख एक हजार ६९ जना महिला रहेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ ।
प्रारम्भिक नतिजामा महिला र पुरुषको विवरण समेटिए पनि याैनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समावेश छैनन् ।
महिला र पुरुष समावेश गरेपनि आफूहरूलाई नसमेटेको भन्दै धेरे लैङ्गिक अल्पसङ्ख्यकहरूले गुनासो गरिरहेका छन् ।
जनगणनाको प्रदेश तथा जिल्लास्तरमा व्यवस्थापकीय कार्यको लागि १८१ कर्मचारी र स्थलगत कार्यमा करिब आठ हजार पाँच सय सुपरीवेक्षक तथा ३९ हजार गणकहरू संलग्न थिए ।
त्यसमध्ये जनगणनाका क्रममा केही लैङ्गिक अल्पसङ्ख्यक पनि गणकका रूपमा खटिएका थिए ।
त्यसमध्येका एक हुन्, ललितपुरको गोदावरी नगरपालिका–१४ का २८ वर्षीय निर्वान श्रेष्ठ ।
गणकका रूपमा खटिँदा उनले अनेकन अनुभव सङ्गाले ।
नगरभित्रका घर–घर पुगेर विवरण सङ्कलन गर्नुपर्ने भएका कारण उनी प्रत्येक घरमा घरबेटीलाई बोलाएर ८० वटा प्रश्न सोध्दै विवरण भर्थे ।
तर घरबेटीले उनलाई जवाफ दिँदै प्रतिप्रश्नमा भन्थे– ‘बाबू केटा हो कि केटी हो ?’
सुरुमा त उनी अनुत्तरित हुन्थे । तर यस्ता प्रश्न धेरै घरमा दोहोरिएका कारण उनलाई जवाफ दिन कर लाग्थ्यो ।
अनि जवाफमा उनी भन्थे– म केटा पनि होइन, केटी पनि होइन । अरूभन्दा फरक हुँ ।’
हुनपनि आजभन्दा नौ वर्षअघि अर्थात् १९ वर्षको उमेरमा उनले आफू फरक भएको थाहा पाएका थिए ।
तर फरक हुनुमा उनलाई त्यति दुःख थिएन, जति आजभोलिका प्रश्न र खिस्सीट्युरीले दिन्छन् ।
फरक भएर पनि साहसिलो भइ संसारसँग लड्न सक्नुमा गर्व थियो उनमा ।
गाउँघरमा विस्तारै ‘जेन्डर’बारे प्रश्न आउनेक्रम घट्दै थियो । तर जनगणनामा गणकको जिम्मा पाएपछि भने उनीमाथि प्रश्न तेर्सिरहे ।
त्यतिमात्र नभएर बिहेका बारेमा सोधे । धेरै ‘करकर’ गर्लान् भन्ने डरले कसैलाई गर्लफ्रेन्ड खोज्दै छु भनेर बनावटी जवाफ फर्काउँदै अगाडि बढ्थे ।
तथापि, उनी हालसम्म ‘सिङ्गल’ नै छन् ।
अनलाइनमार्फत जनगणनामा छनोट भएका उनले आफ्नै घर नजिकैको क्षेत्रमा विवरण सङ्कलन गरेका थिए ।
नुहाएर, पुजा गरी खाना पकाएपछि आफ्नो झोला र आइडी कार्ड भिरेर जनगणनाका लागि विवरण सङ्कलन गर्न निस्कन्थे उनी ।
घरमा बुबा र दिदी बिरामी भएको हुनाले सबै काम सकेर, उनीहरूलाई खाना र औषधि खुवाएपछि ठ्याक्क ९ः३० बजे घरबाट निस्किन्थे ।
घरबाट २० देखि २५ मिनेट हिँडेपछि उनि जनगणनाका लागि विवरण सङ्कलन गर्न तोकिएको क्षेत्रमा पुग्थे ।
आफूसँग भएको झोलाबाट प्रश्नावली निकालेर ८० वटा प्रश्न भएको प्रश्नावलीमा विवरण भर्थे ।
सुरुसुरुमा फारम भर्ने अभ्यास नभएको कारण पहिलो दिनमा ३० देखि ४० मिनेट लाग्थ्यो ।
विस्तारै बानी पर्दै गएपछि भने उनलाई एउटा घरमा १५ देखि २० मिनेटसम्म लाग्यो ।
एउटा घरमा सकेपछि उनी फेरि अर्को घरतर्फ लाग्थे ।
कहिले बिहान आउँनुस्, बेलुका आउँनुस्, खाजा खाइरहेका छौँ पछि आउँनुस् भनेर धेरैले फर्काउँथे पनि ।
आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले कहिले बिहान, कहिले बेलुका गएर पनि उनले झर्को नमानी विवरण सङ्कलन गरे ।
काम सकेर घर फर्कदा कहिले सात त कहिले साढे सात बजिसक्थ्यो ।
जे हाेस्, उनले आफ्नो जनगणनाको लागि गणकको जिम्मेवारी पूरा गरे ।
र, सबै गणक तथा कर्मचारीको मेहनतको फल पनि आइसकेको छ ।
मान्छेको व्यवहारले असहज
तर जनगणनामा गणकका रूपमा मान्छेहरूसमक्ष प्रस्तुत हुँदा आफूमाथि भने अरूले असहज तबरले प्रस्तुत भएको उनको गुनासो छ ।
आफूलाई बुझ्नेहरूको नजर सामान्य भए पनि धेरैले अर्कै पाराले हेरिराख्ने उनले बताए ।
कतिपयले हिम्मत गरेर भएपनि विभिन्न प्रश्न सोधेको उनी सम्झन्छन् ।
उनकै शब्दमा :
कतिपयले एउटा कुरा सोध्छु नरिसाउ ल भाइ तिमी केटा हो कि केटी हो भनेर प्रश्न गरेका थिए ।
गाजल पनि लाको छौ, लिपस्टिक नि लाको छौ भनेर सोधेका थिए ।
म यस्तै छु । संसारमा सबै केटा केटीमात्रै त हुन्नन् नि ! फरक किसिमको मान्छे पनि त हुन्छ । म अरूजस्तो लुकेर बसेको छैन । म जे हो त्यँही भन्छु भनेर उत्तर दिँदै गएँ ।
एक जनाले तिम्रो बिहे कोसँग हुन्छ भनेरसमेत सोध्नु भएको थियो ?
बिहे गर्नलाई म ब्वाइफ्रेन्ड खोज्दै छु भनेर जबाफ दिएपछि सबै गलल हाँसे ।
बाटोमा हिड्ने क्रममा धेरै जना मानिसहरू भेट भइरहेका हुन्छन् ।
आफूले जनगणना गर्ने क्षेत्रमा हेल्थ पोस्ट, पुलिस चौकी र स्कुल पनि पर्थे ।
त्यहाँका र चिया खानका लागि बसेका मान्छेहरूले उनलाई देखेपछि अर्कै ग्रहबाट आएको जस्तो गरेर हेरिरहन्थे ।
उनीहरूले अलिकती खिस्सी गर्ने गरेको महसुस हुन्छ । आजकल कानुन लाग्छ भनेर थाहा भएको हुनाले होला आफ्नोअगाडि कसैले भन्दैनन् ।
पछाडि-पछाडि व्यङ्ग गर्ने देखि लिएर कतिपयले जिस्काउन खोज्छन् ।
मान्छेहरूले जे भनेपनि आफूले नकारात्मक सोच्नुभन्दा पनि आफ्नै तरिकाले काम गर्ने गरेको छु ।
को हुन् त निर्वान ?
वास्तविक नाम अर्कै भएपनि चलनचल्तिका लागि र सबैले चिन्नेगरी उनले आफ्नो नाम निर्वान श्रेष्ठ राखेका हुन् ।
हाल उनी मास्टर्स (एमबिएस) गर्दै छन् ।
जनगणनामा गणकको जिम्मेवारी पाउनुअघि उनले चक्रपथको एउटा खाजा पसलमा भाडा माझ्ने काम गर्दै आएका थिए ।
साथीहरू र फेसबुकमार्फत थाहा पाएर दुई वर्षअघि उनी ब्लु डायमन्ड सोसाइटी (समलिङ्गी अफिस)मा भोलुन्टरको रूपमा पनि कार्यरत थिए ।
उनले त्यहाँ लगभग एक वर्ष जति काम गरेका थिए ।
नयाँहरूलाई चान्स दिनुपर्छ भनेर पुरानालाई निकाल्दा उनी पनि सो समूहमा परेपछि कामविहीन भए ।
कोरोनाको समय पनि थियो ।
त्यसपछि कतै काम खोज्दा पनि पाएका छैनन् ।
बेरोजगार हुनुमा लैङ्गिक पहिचान पनि एक कारण बनेको उनको गुनासो छ ।
‘हामीजस्तो मान्छेहरूलाई काम दिन पनि नखोज्ने रहेछ, पढाइ छ, काम गर्ने क्षमता छ तर अवसर छैन, ‘ उनको गुनासो छ ।
आफूले ब्याचलर पास गरेर मास्टर पढ्दै गर्दा पनि विभिन्न ठाउँमा जबको लागि एप्लाई गर्दा पनि अरूले काममा राख्न नखोजेको उनको गुनासो छ ।
कतै काम नपाएपछि उनले महाराजगन्ज चक्रपथमा डिस वासरको काम पनि गरेका थिए ।
काम नै नपाएपछि महिनाको ८–१० हजार भएपनि हुन्छ सोचेर बिहान सात बजे काममा गएर बेलुका पाँच बजे फर्किने गरेको उनी सम्झन्छन् ।
‘दिनभरि होटलमा काम गर्न गाह्रो भएपनि भाडा माझ्न नराम्रो त होइन’, उनले भने, ‘मेहनत गरेर खाने हो भन्ने सोचेर काम गरिरहेँ । अरू काम नपाउन्जेलसम्म गर्छु भनेर गरेको थिएँ ।’