विद्यालयले भाषिक शुद्धतालाई ध्यान नदिँदा खास ठुलो विषय मानिँदैन तर विद्यालयहरूको पनि विद्यालय मानिने विश्वविद्यालयले नै भाषालाई उपेक्षा गर्ने गरेका छन् ।
सरकारी निकायहरूले जारी गरेको विज्ञप्तिमा भाषिक शुद्धता नहोला । किनकि, त्यहाँ राजनीतिक पहुँचलाई शक्तिमा रूपान्तरण गरेर जागिर खाएकाहरू पनि हुन सक्छन् ।
तर विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै विज्ञप्तिमा भाषालाई उपेक्षा गर्दा यसमा ठुलै प्रश्नचिह्न उठ्न सक्छ । अनि भाषिक शुद्धताको अभियानमा पनि धक्का पर्न सक्छ ।
माघ ९ गते नेपालकै सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले तीन सय शब्दको विज्ञप्ति सार्वजनिक गरेको थियो । जसमा कम्तिमा पनि २० देखि २५ ठाउँमा अशुद्ध देखिएको छ ।
त्यसैगरी, १० माघमा मध्यपश्चिम विश्वविद्यालयले जारी गरेकाे विज्ञप्तिमा पनि ४० देखि ५० ठाउँमा अशुद्ध छ । जबकि, त्यो विज्ञप्ति एक सय ३० शब्दको मात्र छ ।
यी दुई विश्वविद्यालय उदाहरणमात्र हुन् । नेपालका अधिकांश शैक्षिक संस्थाले भाषिक शुद्धतालाई खासै प्राथमिकतामा राखेकाे पाइँदैन ।
नेपालका विश्वविद्यालयहरूले यसरी नेपाली भाषालाई उपेक्षा गर्दा कसैले पनि आवाज उठाएको पाइँदैन ।
विश्वविद्यालयकै सामग्रीमा यतिधेरै अशुद्ध देखिनुले नेपाली भाषाका बारेमा सामान्य ज्ञान पनि नहुने विश्वविद्यालयले कस्ता विद्यार्थी उत्पादन गर्छन् भन्ने प्रश्नचिह्न खडा हुने स्पष्ट छ ।
यस्ता अभियानलाई सार्थकता दिन र भाषा बिगार्नेहरूविरुद्ध बोल्ने प्रायः मिडियाहरूमा नै भाषिक अशुद्धता पाइन्छ ।
उनीहरूको अशुद्ध समाचार ट्रोलका रूपमा पढ्न पनि पाइन्छ ।
भाषा शुद्ध लेख्ने गरेमा नेपाली भाषाप्रतिको गरिमामा थप बढोत्तरी हुन्छ । र, यो भाषिक शुद्धता प्रबलीकरणमा समेत कोशेढुङ्गा साबित हुन्छ ।
हेर्नुहाेस् विश्वविद्यालयद्वारा जारी विज्ञप्तिः