चिसो बढेसँगै रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङकाइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका बिरामी उच्च हुन्छन् ।
जसकारण मानिसहरी चिसोबाट जोगिन अनेक उपायहरू अपनाउँछन् । त्यसमध्ये एक हो आगो ताप्नु ।
चिसोबाट जोगिन पहाडमा दाउरा बालेर ताप्ने गरिन्छ भने तराई र भित्री मधेसमा पराल, पातपङ्गिर दाउँरा, गुइँठा बाल्ने र ताप्ने गरिन्छ ।
गाउँमा खाना पकाउनका लागि अझै पनि चुलो बाल्ने गरिन्छ । त्यसबाट निस्किएको धुवाँले मानिसहरूमा रोग झन् थप्दै गएको छ ।
यसरी निस्किएको धुवाँले सीधै फोक्सोमा असर गरिरहेको हुन्छ ।
जाडोमा न्यानो हुनु पर्छ, तर आगो बाल्दा तथा हिटरको प्रयोग गर्दा भेन्टिलेसन सिस्टम राम्रो हुनुपर्ने विराट मेडिकल कलेज शिक्षण अस्पतालका कन्सल्टेन्ट पल्मनोलोजिष्ट डाक्टर पुरु कोइराला बताउँछन् ।
‘घरमा आगो बालेर न्यानो हुनु राम्रो हो, तर आगो बाल्दा निस्कने अन्य स्वास्थ्यमा समस्या ल्याउनु भएन’, उनले शब्द एक्सप्रेससँगको कुराकानीमा भने ।
उनका अनुसार खुल्ला वातावरण तथा राम्रो भेन्टिलेसन भएको ठाउँमा आगो बाल्दा खासै कुनै समस्या हुँदैन ।
तर बन्द कोठामा आगो बाल्ने, भेन्टिलेसन राम्रो नहुने हुँदा श्वासप्रश्वासमा समस्या निम्तिन सक्छ ।
झनै आजभोलि त प्लास्टिकसमेत बालेर त्यसको धुँवा र तातो ताप्ने गरिन्छ ।
प्लास्टिकको धुँवा मानव शरीरका लागि निकै हानिकारक हुने डा. कोइरालाको भनाइ छ ।
यसले मानिसमा दमको समस्या, क्यान्सरको समस्या हुने सम्भावनालाई बढाउने उनले बताए ।
लामो समयसम्म यस्तो धुवाँधुलो बातावरणमा बस्दा मानिसमा विभिन्न श्वासप्रश्वासको समस्या निम्तिन सक्ने हुँदा आगो बाल्दा प्लास्टिक, मट्टीतेललगायतका वस्तु बाल्न नहुने उनले सुझाएका छन् ।
उनका अनुसार गाउँघरमा चुलोको धुवाँमा धेरै बसेका धेरैजसो गृहणीहरूलाई दम हुने सम्भावना बढी हुन्छ ।
दमको समस्या धेरैजसो ४० वर्ष कटेपछि देखापर्छ ।
यस्तोमा खोकी लाग्ने, स्याँस्याँ हुने, अलिकति हिँड्दा थालेको जस्तो महसुस हुने, सास बढ्ने जस्तो लक्षण देखिन्छ ।
यसबाहेक धुम्रपान र वायुप्रदुषण पनि दमलगायत श्वासप्रश्वासको समस्या निम्त्याउने मुख्य कारक हुन् ।